सबैले लुम्बिनी सम्झिउन भन्ने ढंगले विकास गर्ने योजना बनाएका छौं : ओली

लुम्बिनी, मंसिर १४ । प्रधानमन्त्री केपि शर्मा ओलीले बुद्धको विचारबाटै विश्वमा शान्ति र समृद्धि हासिल हुन सक्ने बताएका छन् । शान्ति, करुणा र मित्रताबाट मानवजातीको कल्याण हुने बताउँदै उनले त्यसैबाट समृद्धि हासिल हुने बताए ।
लुम्बिनी बौद्ध विश्व विद्यालयको २० औं वार्षिकोत्सव तथा तेस्रो विशेष दीक्षान्त समारोहलाई शुक्रबार लुुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले मानवजतीको कल्याण विश्वशान्तिबाट हुने बताए । उनले त्यसैलाई निष्र्कषका रुपमा आफुहरुले समृद्ध नेपाल सुखी नेपालीको नारा तय गरेको समेत बताए ।
प्रधानमन्त्री ओलीले विश्वभरका बौद्धधर्माम्लम्बी र विश्वभरका शान्तिप्रेमीहरुको पावनभूमिका रुपमा लुम्बिनीलाई विकास गरिने बताए । उनले लुम्बिनीमा मानवजाती मात्रै नभई सबै प्राणीहरु समेत रमाउन सक्ने सुन्दर बगैचा बनाउनुपर्नेमा जोड दिए । उनले आफू प्रधानमन्त्री भएको बेला बुद्धजयन्तीको बेला हिलोमा टेकेर कार्यक्रम गर्नुपरेको स्मरण गर्दै त्यहि बेला अन्तर्राष्ट्रिय बुद्धिष्ट ध्यान तथा सम्मेलन केन्द्रको निर्माण गरिएको बताए । ‘५ हजार मानिसहरु एकैचोटी बस्न मिल्ने गरी सभाहल बनाइएको छ’ उनले भने –‘लुम्बिनीलाई मान्छेहरुको मात्रै होईन, चराचुरुङगी किरा फट्याङ्ग्राले पनि लुम्बिनी सम्झिउन भन्ने ढंगले विकास गर्ने योजना बनाएका छौं’ उनले भने ।
प्रधानमन्त्री ओलीले लुम्बिनी विश्व विद्यालयले बौद्ध दर्शन, शान्ति र विश्वबजारसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षाका लागि काम गर्ने समेत बताए ।
कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बौद्व विश्वविद्यालयले बौद्व दर्शनसंगै विश्व बजारमा प्रतिस्पर्धा गर्नफसक्ने जनशक्ति उत्पादनमा गर्नुपर्नेमा जोड दिईन । उनले विश्वविद्लायले सक्षमतामा आधारित पाठ्यक्रम लागू गर्न, गुम्बा शिक्षा, बज्रयान, महायान तथा पाली भाषाको समेत अध्ययन अध्यापनमा विश्वविद्लायले काम गर्नुपर्ने बताईन । उनले दिक्षित विद्यार्थीहरूलाई समाज राष्ट्रमा प्रयोग गर्न अनुरोध गरिन ।

विशेष दोक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक गरेका २८९ जना विद्यार्थीहरुलाई दीक्षीत गरिएको थियो । विश्वविद्यालयले बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवर्द्धनमा अतुलनीय योगदान पु¥याएकी भिक्षुणी धम्मावती (गणेश कुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । उपाधि प्राप्त गरेकी भिक्षुणी धम्मावतीले आफू १२ बर्षदेखि बुद्ध दर्शनका लागेको बताउँदै मानार्थ विद्यावारिधिको उपाधि दिएकोमा खुशी व्यक्त गरिन ।
विश्वविद्यालयका उपकुलपती सुवर्णलाल बज्रचार्यले २०औं वर्षमा प्रवेश गरेको अवसरमा गरिएको दीक्षन्त समरोहलाई बिशेष बनाउन सहभागी सबैप्रति आभार प्रकट गरे ।
दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १५ जना विद्यार्थीहरुलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिएको थियो । दीक्षान्त समारोहमा विशेष अतिथिका रुपमा म्यानमारका भिक्षु सितगो सायडो, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायाण आचार्य, प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), प्रदेशका मन्त्री, सांसद सहित स्वदेशी तथा विदेशी कुटनितिकि नियोगका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । २०औं वार्षिकोत्सव तथा तेस्रो विशेष दीक्षान्त समारोह अघि १७ औं सिनेट सभाको बैठक समेत सम्पन्न गरिएको रजिष्टार तिलक आचार्यले बताए । प्रधानमन्त्री एवं कुलपति ओलीको अध्यक्षतामा सिनेट बैठक सम्पन्न भएको हो । विश्वविद्यालयमा बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय गरी तीन संकायबाट स्नातक, स्नातकोत्तर तथा विद्यावारिधिसहित ३० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् । ती शैक्षिक कार्यक्रमहरुमा २३०८ विद्यार्थी अध्ययनरत छन्। तीमध्ये ६८ जना विदेशी विद्यार्थीहरु विश्वविद्यालय अध्ययन गर्देछन् ।
लुम्बिनी, बुटवल, देवदहमा विश्वविद्यालयका आंगिक क्याम्पसहरु सञ्चालनमा रहेका छन् । दाङ, काठमाडौं उपत्यका, दोलखामा सहकार्य तथा सम्बन्धन प्राप्त १३ वटा क्याम्पसहरुमा विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा छन् ।