featured photo: Darpanpost
लुम्बिनी, पुस २ । बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित ३३ औं १० दिने शाक्यमोन्लम पूजा मंगलबार सकिएको छ । विश्व शान्ति र प्राणी कल्याणको कामना गर्दै करिव ७ हजार लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरुले पूजा गरेका हुन् । प्रणिधान र बुद्ध पाठले १० दिनसम्म मायादेवी मन्दिर परिसर गुञ्जायमान बन्दा त्यहाँ पुगेका पर्यटकहरु समेत पूजामा आर्कषित भएका थिए । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा ८ वर्षपछि मंसिर २३ देखि शुरु भएको थियो । लुम्बिनी विकास कोषको पहलमा ४१ औं शाक्य गोङ्मा ट्रिछेन रिन्पोछेको उपस्थितीमा पूजा गरिएको हो ।
१० दिने मोन्लम पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) को उपस्थितीमा समापन गरिएको हो । भारतका ४१ औं शाक्य ट्रिछेनको उपस्थितीमा विश्वकै ठूलो शाक्य मोन्लम पूजा लुम्बिनीमा हुँदा यसले आध्यात्मिक वातावरण सृजना गरेको छ । कोषका उपाध्यक्ष डा. लामाले शाक्य ट्रिछेन रिन्पोछें गुरुको उपस्थितीमा लुम्बिनीमा हजारौं लामा, भिक्षु, उपासक उपासिकाहरु सहभागी भएर मोन्लम पूजा हुनु निकै ठूलो गौरव भएको बताए ।
लुम्बिनीबाट शुरु भएको शाक्यमोन्लम पूजा निरन्तरताका लागि कोष सहित स्थानीय प्रशासन, स्थानीय सरकार, होटल व्यवसायी र आम नागरिकहरुले समेत साथ दिनुपर्ने बताए ।
प्राणी जगतको कल्याणका लागि जीवन अर्पित गरेका बोधिसत्वहरूका प्रणहरूको सम्झना गरेर शान्तिको कामना गरिएको थियो । हिमाली बौद्ध परम्परा अनुसार लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा बिहानैदेखि त्रिरत्न बन्दनाको पाठ र समन्त भद्र प्रणिधान स्तोत्र गर्ने गरिएको थियो ।
शाक्य मोन्लमले लुम्बिनी, भैरहवा क्षेत्रका होटलहरु भरिभराउ भएको कोषका कार्यकारिणी सदस्य श्याम रोक्का जानकारी दिए । यो सिजनमा मोन्लम पूजाका कारण आर्थिक कारोवार समेत राम्रो भएको होटल व्यवसायीहरुले बताएका छन् । पूजा अवधिभर विभिन्न धार्मिक गुरुदेखि सरकारी क्षेत्रका उच्च पदस्थ व्यक्तिहरुले ४१ औं शाक्य ट्रिछेन रिन्पोछेसँग आर्शिवाद लिन पुगेका थिए ।