नवलपुरमा नेपाल उद्योग तथा व्यवसायी महासङ्घको विधान संशोधन बैठक सुरु

नवलपुर । नवलपुरको गैँडाकोटमा नेपाल उद्योग तथा व्यवसायी महासङ्घको विधान तथा नीति निर्माण सन्दर्भमा आयोजित विस्तारित बैठक सुरु भएको छ ।

शनिबारसम्म सञ्चालन हुने बैठकको आज दिउँसो नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुभएको हो ।

महासङ्घका पूर्वउपाध्यक्ष एवम् विधान संशोधन बैठकका संयोजक डा तिलचन्द्र भट्टराईले मुलुकको वर्तमान अर्थतन्त्र र अबको दिशाका बारेमा बृहत छलफल गरिने बताउनुभयो । देशको अर्थतन्त्रमा बिस्तारै आशाहरु पलाउन थालेको अवस्थामा उद्योगी व्यवसायीलाई लगानी गर्न प्रेरित गर्नेगरी नीति निर्माण गर्नका सरकारलाई आग्रह गरिने उहाँले बताउनुभयो ।

अहिले व्यवसायमा देखिएका कठिनाइलाई सम्बोधन गर्नेगरी छलफल गरेर सरकारलाई योजना बनाउन सुझाव दिने डा भट्टराईले बताउनुभयो । नवलपुरमा आयोजना गरिएको भेलाले गण्डकी प्रदेशको अन्न भण्डारको रुपमा रहेको नवलपुरको मौलाकालिका, देवघाट, त्रिवेणी, अयोध्यापुरी, बाल्मीकि जस्ता महत्वपूर्ण धार्मिक क्षेत्रको शुद्धतालाई कायम गर्दै आर्थिक पर्यटकीय क्षेत्रको रुपमा राष्ट्रिय योजनाको रुपमा अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा एमाले महासचिव शङ्कर पोखरेलले व्यापार व्यवसाय गर्ने मान्छेहरुलाई राजनीतिक रुपमा सङ्गठित गर्ने फोरमको रुपमा मात्रै महासङ्घलाई हेर्न नहुने बताउनुभयो । उहाँले यस महासङ्घलाई समृद्ध नेपाली, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने एउटा मिसनको रुपमा आफूलाई अग्रसर बनाउने काम गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । अहिले मुलुकमा रहेका धेरै कम्युनिष्ट पार्टीहरुले समाजवादी कार्यक्रम दिने विषयमा पैरवी गरिरहेका भन्दै महासचिव पोखरेलले अहिले नै समाजवादी कार्यक्रम दिने समय सुरु नभएको बताउनुभयो ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घका संयोजक भागिरथ सापकोटाले आज साँझबाट नै विधान तथा नीति निर्माण सन्दर्भमा आयोजित विस्तारित बैठकको बन्दसत्र हुने बताउनुभयो । दोस्रोसत्रमा पूर्वमन्त्री एवम् एमाले नेता भानुभक्त ढकालले स, पूर्वअर्थमन्त्री एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्ने सापकोटाले जानकारी दिनुभयो । बन्दसत्रमा साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन तथा संधोधित विधानको बारेमा छलफल हुने सापकोटाले बताउनुभयो । विस्तारित बैठकमा ३५० प्रतिनिधि सहभागी छन् ।