नेपालगन्ज।आगामी माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टरः टेक वन’को प्रचार–प्रसारका लागि चलचित्रको टिम नेपालगन्ज आईपुगेको छ । बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा सहभागि उक्त टिमले चलचित्रबारे जानकारी दिएको छ ।
सम्मेलनमा बोल्दै अभिनेता प्रदिप खड्काले चलचित्रले अहिलेका युवाहरुको कथा बोल्ने जानकारी दिए । उनले ‘प्रकास’ तथा ‘पुजार सार्की’मा जस्तै भुईमान्छेको कथा भएपनि अलि फरक शैलीले कथा पस्किने कोसिस गरेको बताएका छन् । फिल्मको कथा यूनिक रहेको अभिनेता खड्काले जानकारी दिए । यो चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी दिव्यालाई ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको बताईएको छ । उनी चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन् र अमेरिकाबाट नेपाल फर्केर आफ्नो फिल्मी करियरको सुरुआत गरेकी हुन् । जसले दर्शकहरूको उत्सुकता र अपेक्षा बढाएको छ ।
चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् र स्क्रिप्ट आकाश बराल र राजन भुसालको रहेको छ । प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालासहित दिव्य देव, उषा रजक, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको यो चलचित्र अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति हो । यस चलचित्रबाट अभिनेता कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किँदैछन् ।
निर्माता थमन कुमार भण्डारी, सह–निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् । नरेन्द्र मैनालीले छायाङ्कन गरेको यो चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् । हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले सङ्गीत दिएका छन्, र शिशिर खाती तथा किरण थापाले कोरियोग्राफी गरेका छन् ।
पोस्ट–प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् भने रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेको छ । चलचित्रको मिडिया प्लानिङ जीवन पराजुली र इभेन्ट प्लानिङ लिभेन्ट्स स्टुडियोले गरेका छन् । द्वन्द्व निर्देशन अष्ट महर्जन र कला निर्देशन कृष्णमान तामाङले गरेका हुन् ।