बुटवल । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीको अध्यक्षमा मिन राना सर्बसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलको बाजे बज्यै स्थानमा भएको फोनिजको सातौँ जिल्ला अधिवेशनले रानाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा राज चौधरी, सचिवमा आकृति थापा, सहसचिवमा मनु गुरुङ र कोषाध्यक्षमा पार्वती थारु रहेका छन् भने सदस्यहरुमा जगत ठाडामगर, वसन्त सिंजाली, सुमन थापा, निलम चौधरी, एकु राना, नारायणी पाटामगर, जगिलाला थापा र खिम रेश्मी मगर रहेका छन् ।
अधिवेशनले संगठनका अध्यक्ष सानु थापाको कार्यकालको समिक्षासहितको आगामी योजना प्रतिवेदन र कोषाध्यक्ष मिन रानाको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको फोनिजले जनाएको छ ।
यसअघि अधिवेशनको खुल्ला सत्रको उद्घाटन गर्दै कन्चन गाउँपालिका उपाध्यक्ष मौसमी पुन मगरले आवाजविहीनको आवाज बुलन्द गर्न फोनिजले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताइन् । समावेशीता र सहभागीतामुलक राजनीतिक प्रणालीको विकासमा संचार माध्यमले अग्रणी भूमिका खेलेको उल्लेख गर्दै उनले फोनिजजस्ता संस्था राज्यको सम्पत्ति भएको बताइन् ।
“कठिन परिस्थितिमा विचार निर्माणको काममा फोनिजले निरन्तर पैरवी गर्दै आएको छ ।” उपाध्यक्ष पुनले भनिन्, “आगामी दिनमा समेत समाज रुपान्तरणको अभियानमा फोनिजमा आवद्ध पत्रकारहरुले निरन्तर कलम चलाउनु हुनेछ ।”
अधिवेशनमा फोनिजका केन्द्रिय उपाध्यक्ष सरु राना, पत्रकार सम्बद्ध संस्थाका जिल्ला अध्यक्षहरु तथा जातिय संगठनका अध्यक्षहरुले शुभकामना मन्तब्य राखेका थिए ।