बिहीवारको संसद बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपा संसदीय दलको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलले आगामी संसद बैठकमा पनि सभापति रवि लामिछानेको विषय उठान गर्ने निर्णय गरेको छ ।

बुधवार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टी सचेतक निशा डाँगीले जानकारी दिनुभयो । उहाँले दलको बैठकमा तीन वटा एजेण्डाहरु रहेको र जसमा संसदमा दर्ता भएका विषय,अध्यादेशको विषय र संसदको आकस्मिक,विशेष र शुन्य समयमा उठाउनुपर्ने विषयमा छलफल गरेको बताउनु भयो । उहाँले पार्टी सभापति रवि लामाछिनेका विषयमा संसदमा निरन्तर कुरा उठाउने दलले निर्णय गरेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘दलको बैठकमा तीन वटा एजेण्डा राखेका थियौं । संसदमा दर्ता भएका विषय,अध्यादेशको विषय र संसदको आकस्मिक,विशेष र शुन्य समयमा उठाउनुपर्ने विषयका थिए । अबको प्रतिनिधि सभाको बैठकमा पार्टीका एजेण्डा,सभापति रवि लामिछानेका विषयमा बोल्ने निर्णय गरौं । अध्यादेश अस्वीकारको सूचना संसदमा दर्ता गराएका छौं । त्यसमा बोल्ने सांसदहरु नाम टुंग्याएका छौं । विधेयक अध्ययन समितिलाई चलायमान बनाउने निर्णय गरेका छौं ।’

उहाँले संसदमा दर्ता भएको अध्यादेशबारे बोल्ने सांसदहरुको नाम समेत टुङ्गो लगाएको उल्लेख गर्नुभयो ।