
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले नीतिगत समाधानसहित पँुजीगत खर्च गर्ने क्षमतामा वृद्धि गर्ने तयारीमा रहेको बताउनुभएको छ ।
बिहीवार अर्थ मन्त्रालयमा बजेटको अर्धवार्षिक समिक्षापछि पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार गठन भएसँगै ओरालो लाग्दै गरेको अर्थतन्त्रलाई सुधार गर्दै उकालो लगाउने काम गरेको दाबी गर्नुभयो । उहाँले पछिल्ला सार्वजनिक अर्थतन्त्रका समग्र परिसूचकहरुले समेत बताई रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारको कार्यक्षमताको आधारमा वर्तमान सरकार सापेक्ष रुपमा सक्षम रहेको पनि बताउनु भयो । उहाँले अर्थतन्त्र सुधारको लागि थालेका प्रयासहरुलाई सरकारले तिब्रता दिने र छिटो नतिजा प्राप्त गर्ने काममा लाग्ने बताउनु भयो । अर्थमन्त्री पौडेलले सरकारले दुई तिहाई भन्ने विषयमा ध्यान नदिएर राम्रो काम गर्ने संकल्पमा रहेको उल्लेख गर्नुभयो । आयातबाट जोगिएर वा अलग भएर राजश्व,आर्थिक र समग्र मागमा वृद्धि गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले राजश्व संकलनमा गत वर्षको तुलनामा प्रगति गरेको भन्दै अझै तिब्रता दिने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘वर्तमान सरकार गठन भएसँगै ओरालो लाग्दै गरेको अर्थतन्त्रलाई सुधार गर्दै उकालो लगाउने काम गरेको छ । अर्थमन्त्रालयले जारी गरेका समग्र परिसूचकहरुले बताइरहेका छन् । सरकारको कार्यक्षमताको आधारमा वर्तमान सरकार सापेक्ष रुपमा सक्षम छ । अर्थतन्त्र सुधारको लागि थालेका प्रयासहरुलाई तिव्रता दिने छिटो नतिजा प्राप्त गर्ने कुरामा ध्यान दिनुपर्ने आवश्यकता छ । सरकारले दुई तिहाई भन्ने विषयमा ध्यान दिएका छैनौं । सरकारले जति काम गरेको छ राम्रो गरेको छ । अझै राम्रो काम गर्ने संकल्प राखेको छ । आयातबाट जोगिएर अलग भएर राजश्व,आर्थिक र समग्र माग बढाउँछौं भन्ने होइन । उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कुरामा आयात आवश्यक हुन्छ । त्यसले गर्दा सरकारले उत्पादन र उत्पादकत्व वृद्धिमा फोकस गर्न चाहेका छौं । राजश्व संकलनमा प्रगति गरेका छौं अझै तिब्रता दिन्छौं । सरकार पुँजीगत खर्च किन भएन र कसरी गर्ने भन्ने विषयमा केन्द्रित छ । पुँजीगत खर्च कम हुनुका कारण निवारणमा केन्द्रित छ । सरकार समग्र नीतिगत समाधानसहित पँजीगत खर्च गर्ने क्षमता बढाउँछौं ।’
अर्थमन्त्री पौडेलले सम्पती शुद्धिकरणको ग्रे लिस्टमा पर्ने विषयमा एक प्रकारको परीक्षा सकिएको बताउनु भयो । उहाँले परिक्षा अघिल्लो सरकारको समयमा भएको र परिणाम वर्तमान सरकार आएपछि टासिन लागेको भन्दै वर्तमान सरकार लिस्टमा पर्नबाट जोखिने कोशिसका लागि उपायहरु खोजिरहेको बताउनु भयो ।