माओवादी केन्द्र बुटवलको अध्यक्षमा महेन्द्र भुसाल निर्वाचित

बुटवल । नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर कमिटीको तेस्रो नगर अधिवेशनबाट अध्यक्षमा पुन : महेन्द्र भुसाल निर्वाचित भएका छन् ।  शुक्रबार सम्पन्न निर्वाचनमा अर्का उम्मेदवार कृष्णप्रसाद बञ्जाडेलाई ४ मतले पराजित गर्दै भुसाल निर्वाचित भएका हुन् ।

निर्वाचित भुसालले २५ र बञ्जाडेले २१ मत ल्याए भने अर्का प्रतिस्पर्धी सागर प्रसाद न्यौपानेले १२ मत ल्याए । सर्वसम्मतिको प्रयास असफल भएपछि महिला उपाध्यक्ष र सहसचिव बाहेक सबै पदमा मतदान भएको थियो । महिला उपाध्यक्षमा बसन्ता खनाल र सहसचिवमा रचना श्रेष्ठ यसअघि नै  सर्वसम्मत भएका थिए ।

निर्वाचनबाट खुल्ला उपाध्यक्षमा योगेन्द्र गौतम ४० मत , समवेशी उपाध्यक्षमा लालबहादुर थापा १९ मत ल्याई विजयी भएका छन् । उपाध्यक्षका अन्य उम्मेद्धार होमनाथ शर्मा १७, राजु पौडेल १३ र सिंह ब. खत्रीले १७ मत ल्याएका थिए । त्यसै गरि सचिवमा तुल्सीराम न्यौपानेले ३३ मत ल्याई विजयी भएका छन् भने अर्का उम्मेद्धार शोभाखर पाण्डे ( माधव)ले २४ मत प्राप्त गरे । कोषाध्यक्षमा पुर्ण बहादुर परियार (प्रकाश ) ले ३१ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी भरत अधिकारीले २४ मत प्राप्त गरे ।

नेकपा माओबादी केन्द्र बुटवल उपमहानगरकमिटीको तेस्रो नगर अधिवेशनको बन्द सत्रबाट ६१ सदस्यीय  कार्यसमिती चयन गरेको थियो । एक हप्ता लामो रस्साकस्सीबाट शुक्रबार भएको निर्वाचन मार्फत पदाधिकारीको टुङ्गो लागेको हो ।