
देवदह । देवदह नगरपालिका वडा नं ९ ले ‘उज्यालो वडा बनाउने अभियान’ सुरु गरेको छ। पछिल्लो समय बढ्दै गइरहेको चोरी, डकैती तथा लुटपाटलाई नियन्त्रण गर्दै वडा बासिन्दालाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको वडा अध्यक्ष मोहन जिसीले जानकारी दिए।
अभियानको उद्घाटन अवसरमा ८१ वटा पोलमा बत्ती जडान गर्दै कार्यक्रमको शुभारम्भ गरिएको छ। यो कार्य प्रगति सामुदायिक वन, टोल विकास संस्था तथा स्थानीय बासिन्दाको सहकार्यमा सम्पन्न भएको वडा अध्यक्ष जिसीले बताए। साथै, विद्युत प्राधिकरणको नियमअनुसार मीटर बक्स जडान गरिएको उनले स्पष्ट पारे।
नगर प्रमुख ध्रुव प्रसाद खरेलले नगरवासीहरूको सुरक्षा गर्ने जिम्मेवारी नगरपालिकाको भएको बताउँदै उज्यालो अभियान वडा नं ९ बाट सुरु गरिएको जानकारी गराए। उनले क्रमशः अन्य वडाहरूमा पनि यो अभियान विस्तार गर्दै देवदहलाई उज्यालो नगर बनाउन प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे।
नगरप्रमुख खरेलका अनुसार, उज्यालो अभियानको मुख्य उद्देश्य रातको समयमा नगरबासीलाई सुरक्षित महसुस गराउनु तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्नु हो। उनका अनुसार, उज्यालो वातावरणले बजार, आवासीय क्षेत्र तथा सार्वजनिक स्थलहरूमा सुरक्षा थप मजबुत बनाउनेछ। नगरपालिकाले आगामी दिनमा अन्य वडाहरूमा समेत यो योजना विस्तार गर्दै सबै क्षेत्रलाई उज्यालो बनाउने लक्ष्य राखेको छ।
स्थानीय टोल विकास संस्थाका प्रतिनिधिहरूले पनि यो अभियानप्रति आफ्नो समर्थन जनाएका छन्। उनीहरूका अनुसार, रातको समयमा सार्वजनिक स्थानहरू उज्यालो भएपछि बालबालिका, वृद्धवृद्धा तथा महिलाहरू समेत ढुक्कसँग हिँडडुल गर्न सक्नेछन्। टोलबासीले यो अभियान नगरपालिकासँगको सहकार्यमा अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय बासिन्दाले उज्यालो अभियानलाई सकारात्मक रुपमा लिँदै यसले सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। केही स्थानियले भने अझै केही अँध्यारा क्षेत्रहरूमा समेत बत्ती जडान गरिनुपर्ने माग राखेका छन्। नगरपालिकाले क्रमशः अन्य स्थानहरूमा समेत बत्ती जडान गर्दै सम्पूर्ण देवदहलाई उज्यालो नगर बनाउने योजना बनाएको जनाएको छ।