
लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) र म्यानमारका राजदूत म्यूम्यून्ट माउङविच मंगलबार शिष्टाचार भेट भएको छ । कोषको कार्यालयमा उपाध्यक्ष लामा र राजदुतविच बुद्ध जन्मस्थल लुम्बिनीको प्रवद्र्धन र दुई देशको सहकार्यका बिषयमा भेटवार्ता भएको हो ।
भेटका अवसरमा उपाध्यक्ष लामाले म्यानमार नेपालको पूरानो मित्रराष्ट्र भएको बताउँदै लुम्बिनीमा त्यहाँका बौद्ध तीर्थयात्रीहरुलाई भ्रमणका लागि अझ बढि प्रचार गर्न आग्रह गरे । उनले म्यानमारबाट लुम्बिनीमा भ्रमण आउने तीर्थयात्रीहरु राम्रै रहेको तर अब अझ त्यसलाई बढाउन पहल गर्न ध्यानआर्कषण गराए ।
। उपाध्यक्ष लामाले बृहत्तर लुम्बिनी क्षेत्रमा मात्रै शाक्यमुनी बुद्ध सहित क्रक्रुछन्द र कनकमणि बुद्ध गरी तीन वटा बुद्धको जन्म भएकाले यो विश्वकै मानवशान्ति र बौद्ध सम्प्रदायको पवित्र स्थल रहेको बताए ।
भेटमा म्यानमारका राजदुत म्यूम्यून्ट माउङले म्यानमारका ८९ प्रतिशत नागरिकहरु बौद्धिष्ट भएको बताउँदै आफूहरुको आस्थाको केन्द्र भएकाले भ्रमणका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । उनले बुद्धजन्मस्थल लुम्बिनी आफू यसअघि पनि पटक पटक आएको बताउँदै लुम्बिनीको प्रवद्र्धनका लागि राजदुतका रुपमा सक्दो सहयोग गर्ने बताए। भेटमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारीणी सदस्य श्याम रोक्का, राजेश शाक्य लगायतको उपस्थिती थियो ।