
दाङ । डिजिटल नेपाल बनाउने राष्ट्रिय लक्ष्यका बीच घोराही विद्युत प्राधिकरणको सुस्त सेवा प्रणालीले उपभोक्ता थप समस्यामा परेका छन्। मिटर रिडिङ भएको दुई महिना बितिसक्दा पनि बिल अनलाइनमा लिस्टिङ र अपडेट नहुनु गम्भीर लापरवाहीको विषय बनेको छ। बिल लिस्टिङ नभएसम्म अनलाइन भुक्तानी सम्भव नहुनुका कारण सेवाग्राहीहरू समयमा बिल तिर्नबाट बञ्चित भइरहेका छन्। झन अचम्मको कुरा त के छ भने — समयमै बिल तिर्न खोज्दा छुटसमेत नपाउने, ढिलो भयो भने जरिवाना तिर्न बाध्य हुने स्थिति बनाइएको छ। प्राधिकरणको एकोहोरो प्रणाली : सेवाग्राही सूचनाबाट बेखबर घोराही विद्युत प्राधिकरणले उपभोक्तालाई एसएमएस, इमेल वा अन्य डिजिटल सूचनामार्फत मिटर रिडिङ र बिल अपडेटसम्बन्धी जानकारी दिने कुनै प्रभावकारी संयन्त्र नै नअपनाएको गुनासो व्यापक छ। अनलाइन प्रणालीमार्फत सेवा दिने भनिए पनि सूचना नपाउँदा सेवाग्राही अनावश्यक हैरानीमा परिरहेका छन्।
अनलाइन प्रणालीका नाममा धोका? मोबाइल वालेट, बैंकिङ एप र वेबसाइटमार्फत भुक्तानी गर्न खोज्ने उपभोक्ताले बिल नदेखिएर पटक–पटक प्रयास गर्नुपरेको र अन्ततः जरिवाना तिर्नु परेको अवस्थाले डिजिटल प्रणालीप्रति नै शंका उठाएको छ। यो प्रवृत्तिले सेवाग्राहीमा असन्तोष बढाएको छ। समस्या समाधानतर्फ तुरुन्त ध्यान दिनुहोस् : सेवाग्राहीको आग्रह जनताले समयमा सेवा पाउने र प्राधिकरणले समयमा अपडेट गर्ने व्यवस्था तत्काल सुनिश्चित गर्न सेवाग्राहीले माग गरिरहेका छन्। मिटर रिडिङ भएको मितिले ढिलोमा एक हप्ताभित्र, वा सकभर तीन दिनभित्र नै बिल अनलाइन प्रणालीमा लिस्टिङ/अपलोड हुन अनिवार्य गरिनु पर्ने माग अब व्यापक बन्दै गएको छ। यसका साथै डिजिटल सूचनाको व्यवस्थापन सुधार गरिनु र अनावश्यक जरिवानाबाट सेवाग्राहीलाई जोगाइनु अत्यन्त जरुरी भएको देखिन्छ।