प्रदेशसभा सदस्य खड्ग बस्नेतद्वारा शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता

 

सुनवल ।  लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेतले हाल देशभर जारी शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्। उनले संविधान जारी भएको लामो समय बितिसक्दासमेत शिक्षा ऐन नआएको र विगतमा भएका सहमति कार्यान्वयन नहुनु चिन्ताजनक रहेको बताए।

बस्नेतले शैक्षिक सत्रको अन्त्य र नयाँ सत्र सुरु हुने संवेदनशील समयमा शिक्षकहरूले शैक्षिक हड्तालसहित आन्दोलन गर्नु विद्यार्थीहरूको भविष्यमा गम्भीर असर पार्ने उल्लेख गर्दै समस्या समाधानका लागि सरकारले संवाद, समन्वय र सहकार्यको बाटो समात्नुपर्नेमा जोड दिए।

 

हाल विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरू आन्दोलनरत छन्। सरकारद्वारा संसद्मा हालै दर्ता गरिएको विधेयकविरुद्ध १८ बुँदे मागसहित देशभरका करिब २६ हजार सरकारी विद्यालयमा पठनपाठन ठप्प भएको छ। आन्दोलनमा सहभागी करिब १ लाख ८० हजार शिक्षकको सहभागिताले ५३ लाख विद्यार्थी नियमित कक्षा पढ्नबाट वञ्चित भएका छन्।

 

बस्नेतले सरकार र शिक्षक संगठनबीच चाँडो सहमति कायम भई विद्यार्थीहरूको भविष्य सुरक्षीत बनाउने वातावरण तयार गर्न अपिल गरेका छन्।