
सुनवल । सुनवल नगरपालिकामा नयाँ वर्ष २०८२ स्वागत गर्न भन्दै आयोजित तीनदिने सांगीतिक कार्यक्रमले स्थानीय बासिन्दालाई रातभर त्रास र असहजतामा राखेको छ। Austin Entertainment को आयोजनामा चैत ३० देखि वैशाख १ गतेसम्म सञ्चालन भएको कार्यक्रममा कानुनविपरीत ध्वनि प्रदूषण, मदिरा सेवन, र शान्ति भंगजस्ता कार्य खुलेआम भइरहँदा समेत सम्बन्धित निकायहरू मौन बसेका छन्।
स्थानीय बासिन्दाहरूले आरोप लगाएका छन् कि रातभर ठूलो साउण्ड सिस्टमको प्रयोग, मदिरा सेवनमा लिप्त युवाहरूको हुल, र चर्काचर्कीले समुदायको शान्त जीवनलाई गम्भीर असर पुर्याएको छ। एक स्थानीय बासिन्दाले भने, “हामी श्रमिक, बिरामी, वृद्ध, साना बालबालिका—सबै रातभर सुत्न सकेनौं। जब आग्रह गर्यौं, कसैले सुनुवाइ गरेन।”
नेपालको कानुन अनुसार राति १० बजेपछि साउण्ड सिस्टमको प्रयोग निषेध गरिएको छ। यस्तै, सार्वजनिक स्थानमा मद्यपान र अशान्त गतिविधि गैरकानुनी छन्। तर, सुनवलमा तीन रातसम्म यी नियमको खुलेआम उल्लंघन भएको देखिन्छ ।
कार्यक्रम सञ्चालनका लागि स्थानीय तह, प्रहरी प्रशासन र जिल्ला प्रशासन कार्यालयको पूर्वअनुमति आवश्यक हुन्छ। तर, यस्ता अनुमति लिइएको छ कि छैन भन्ने विषयमा कुनै जानकारी सार्वजनिक गरिएको छैन। यसबारेमा प्रशासनको मौनता थप संकास्पद भएको स्थानीयको भनाइ छ।
“सांस्कृतिक कार्यक्रम” को नाममा यस्ता अराजक गतिविधि हुनु न केवल गैरकानुनी हो, यो समाजमा विकृति फैलाउने खालको अभ्यास हो भन्ने स्थानीय समाजसेवीहरूको तर्क छ।