
मुस्कानसहितको बाल अनुहार, मधुर र मिठासयुक्त बोली र गायन प्रतिभाले ओतप्रोत एक नाबालक। यीनै विशेषता भएका र लाखौं नेपालीको मन जितेका एक बाल गायक सचिन परियार आजबाट हामी रहेनन्। बालसुलभ व्यवहारले भरिपूर्ण सचिनको बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
सानै उमेरदेखि शारीरिक रूपमा कमजोर सचिनको जीवन सङ्घर्षपूर्ण रह्यो। बाल कलाकारका रूपमा चर्चित भएका उनी कुनै समय लोकप्रिय टिभी कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउन आइपुगेका थिए। उनको ‘सन्चै हजुर’ भन्ने थेगोले उनलाई भाइरल बनायो। तर, यो चर्चासँगै उनको जीवनमा अनेक कठिनाइले प्रवेश गर्यो।
उनका बुवा तेजेन्द्र परियारले छोराको सफलतालाई व्यक्तिगत फाइदाका लागि प्रयोग गरेको आरोप लाग्दै आएको छ। सचिनको नाममा आएको आर्थिक सहयोगले उनको स्वास्थ्य सुधार्न सकिनुपर्नेमा दुरुपयोग भएको भन्दै आलोचना भएको थियो। युट्युबर र उनका बुवाले उनलाई ‘कमाइ खाने साधन’ बनाएर प्रयोग गरेको टिप्पणी सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छ।
समाजका तीखा प्रश्नहरू
सचिनको निधनले समाजका गहिरा सवालहरू उठाएको छ। गायक शिव परियारले ‘सचिनले भोगेको नियति कसैले पनि भोग्नु नपरोस्’ भन्दै आफ्नो गहिरो समवेदना प्रकट गरेका छन्। उनले लेखेका छन्, ‘फेरि पनि कुनै बाल बालिकाले सचिनले भोगेको जस्तै नियति भोग्न नपरोस्। हार्दिक श्रद्धाञ्जली सचिन तिम्रो आत्माको स्वर्गमा बास होस यही प्रार्थना गर्दछु।’
सामाजिक सञ्जालमा सचिनको निधनप्रति हजारौंले श्रद्धाञ्जली व्यक्त गरेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ता राम ढुंगानाले लेखेका छन्, ‘सचिनको बालापनमा बाध्यता थियो। उनका बुवाले उनलाई केवल कमाइ खाने भाँडो बनाए। उनको अस्वाभाविक मृत्युले उनको बुवाप्रति गम्भीर प्रश्न उठाएको छ।’
यस्तै, जुनु पन मगरले लेखेकी छन्, ‘सचिन परियारको कला र गला अमर रहनेछ। उनको शरीर मात्र हामीबाट टाढा भएको हो। उनको स्मृतिले हामीलाई सधैँ प्रेरित गर्नेछ।’
यसैगरी भावना परियार लेख्छिन्, ‘सचिनको आत्माले शान्ति पाओस्। तर, अर्को सचिनको जन्म नहोस्। समाजले बाल प्रतिभाहरूलाई सही बाटो दिन सकेन भने यस्तै दुःखद अन्त्यले उनीहरूको जीवन समाप्त हुनेछ।’
कुनै समय लाखौंले रुचाएका सचिन समयको क्रूर खेलमा परे। उपचारको अभाव, सामाजिक असंवेदनशीलता र पारिवारिक लापरबाहीले उनको बाल्यकाल सकिएको थियो।
सचिनलाई सम्झिँदै…
सचिनको मृत्युले केवल उनका परिवार होइन, समाजका हरेक मानिसलाई झकझक्याएको छ। यस्ता प्रतिभाहरूलाई सही दिशा दिन नसक्ने हाम्रो असफलताले आज सचिनलाई गुमाउनुपर्यो।
बाल प्रतिभा मनोरञ्जनको साधन मात्र होइनन्। उनीहरूलाई सही दिशा, माया र सहयोग दिने दायित्व समाजको हो। सचिनको आत्माले शान्ति पाओस्। हार्दिक श्रद्धाञ्जली, सचिन ! तिमीले छोडेको मुस्कान र मिठास हाम्रो हृदयमा सधैँ जीवित रहनेछ।