भरतपुर । भरतपुरमा बुधवारदेखि प्रथम अन्तरपालिका आमन्त्रित सितोरियो कराँते प्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराँते संघ भरतपुर महानगर समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
दुई दिन चल्ने प्रतियोगितामा बागमती, गण्डकी र मधेश प्रदेशका १४ पालिकाबाट खेलाडीहरु सहभागी हुनेछन् । १४ पालिकाबाट दुई सय १० खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल सितोरियो कराँते संघ भरतपुर महानगर समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार पुरुष एक सय १२ र महिला ९८ जना खेलाडीहरु हुनेछन् । उनीहरुले १५ विधामा १५ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । जसमा पुरुषतर्फ ८ तथा महिलातर्फ ७ स्वर्ण रहेको छ । पहिलो हुने पालिकाले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रोले २० तथा तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्ने गुरुङले बताए ।
यस्तै अनुशासित टिमले ५ हजार तथा महिला-पुरुषतर्फ उत्कृष्ट खेलाडीले जनही ५-५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । भरतपुर ४ को वडा कार्यालयले पुरस्कार सौजन्य गरेको गुरुङले बताए । भरतपुर महानगरपालिका र चितवन जिल्ला खेलकुद बिकास समिति प्रवर्द्धक रहेको प्रतियोगितामा नेपाल सितोरियो कराँते संघ चितवनले प्राविधिक सहयोग गरेको छ ।