फुटबल प्रतियोगितामा शारदा युथ क्लब शारदानगरले विजयी सुरुवात

चितवन । तेस्रो संस्करणको बखान च्याम्पियनसिप फुटबल प्रतियोगितामा शारदा युथ क्लब शारदानगरले विजयी सुरुवात गरेको छ । वडा खेलकुद बिकास समिति भरतपुर १९ को आयोजनामा आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा शारदाले मेट्रो पुलिस भरतपुरलाई ४-० ले हराएको हो ।

बखान मिनी रंगशालामा भएको खेलमा शारदालाई सहज जित दिलाउन मुन्ना कुमालले ह्याट्रिक गरे । यस्तै बिमाल तामाङले अर्को एक गोल गरे । मेट्रो पुलिस भरतपुरले केही राम्रो अवसर पाए पनि सदुपायोग गर्न असफल भयो । यो जितसँदै शारदा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा भोलि नारायणी मोटर्स युनिक क्लब बसेनी र पटिहानी फुटबल क्लब भिड्नेछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ । १० टोली सहभागी प्रतियोगिता फागुन १ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख प्राप्त गर्नेछ