
बुटवल । दलित युवामाथि अत्याचार गरेको भन्दै बुटवलमा विरोध प्रर्दशन भएको छ । संघीय सरकारका गृहमन्त्री रमेश लेखककै निर्देशनमा युवामाथि जातिय अत्याचार भएको भन्दै नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिती रुपन्देहीले बिहिबार बुटवलमा विरोध प्रदर्शन गरेका हाे ।
विरोध प्रदर्शनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम परियारले वर्तमान सरकारले सामन्ती राज्य व्यवस्थाको चिन्तन बोकेको बताए । गृहमन्त्रीकै निर्देशनमा एक युवामाथि जातिय विभेद र अत्याचार गरिनु असामाजिक र मानव अधिकार विरोधी कार्य भएको उल्लेख गर्दै उनले कारवाही हुनुपर्ने माग गरे ।
त्यसैगरी नेपाल दलित मुक्ति मोर्चा रुपन्देही जिल्ला इन्चार्ज तथा दलित अधिकारकर्मी पदम विश्वकर्माले संविधानको रक्षक नै भक्षक भएको भन्दै आक्रोश व्यक्त गरे । उनले न्यायिक छानविन गरि दोषीमाथि कारवाही नगरिए आफुहरु चुप लागेर नबस्ने चेतावनी दिए ।
बुटवलको पुष्पलाल पार्कमा भएको विरोध प्रदर्शनमा लुम्बिनी प्रदेशका पुर्व सांसद दिपा विश्वकर्मासहित अधिकारकर्मी र दलित मुक्ति मोर्चा रुपन्देहीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राममाथि प्रहरीले पटकपटक यातना दिएको आरोप छ । उनले सर्लाहीकै नेहा रौनियारसँग विवाह गरेका थिए । उनीविरुद्ध बालविवाहको मुद्दा दायर गरिएको छ । प्रहरीले उनलाई मुम्बईसम्म पुगेर पक्राउ गरेको थियो ।
अन्तरजातीय विवाह छुटाउनका लागि गृहमन्त्रीकै निर्देशनमा यसरी यातना दिइएको अधिकारकर्मीहरुको आरोप छ । यद्यपि गृहमन्त्री लेखकले भने सो घटनामा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएका छन् ।