देवदह ७ मा बाल अधिकार संरक्षणका लागि बृहत् सचेतना र्‍याली

देवदह । देवदह नगरपालिका वडा नं ७ मा बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा बाल हिंसा, बाल विवाह, कुलत र दुर्व्यसन विरुद्ध बृहत् सचेतनामूलक र्‍याली आयोजना गरिएको छ। वडा कार्यालयको आयोजना तथा वडा बाल संजालको सहआयोजनामा सम्पन्न यस सचेतनामूलक कार्यक्रम बालबालिकाको अधिकार सुनिश्चित गर्ने, उनीहरूलाई सुरक्षित वातावरण प्रदान गर्ने तथा समाजमा बालमैत्री संरचना निर्माण गर्ने उद्देश्यले गरिएको हो।

उक्त सचेतना र्‍यालीमा देवदह वडा नं ७ मा रहेका विभिन्न विद्यालय, बाल क्लब, टोल विकास संस्था तथा आमा समूहहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले बाल अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने कुरामा जनचेतना फैलाउँदै सचेतनामूलक प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरेका थिए।

र्‍याली शितलनगर मदन आस्रित सभाहलबाट सुरु भई विभिन्न स्थान परिक्रमा गर्दै देवदह माविमा पुगेर समापन गरिएको थियो। र्‍यालीको मार्ग शितलनगर चोक, हिले टोल, लक्ष्मीनगर, पिपलडाँडा, कोलिय मार्ग, तल्लो खैरेनी, केशब मार्ग हुँदै सुनकौडा, बैरीमाई, शान्तिनगर परिक्रमा गराइएको थियो। सहभागीहरूले “बाल अधिकारको संरक्षण गरौं”, “बाल अधिकारको प्राप्तिको सुनिश्चितता गरौं”, “बालमैत्री स्थानीय शासन कायम गरौं”, “बाल विवाह गैरकानुनी हो” “बच्चाहरू विद्यालयमा हुन्छन्, कार्यस्थलमा होइन” लगायतका सन्देशमूलक प्लेकार्ड प्रदर्शन गरेका थिए।

र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बाल हिंसाको न्यूनीकरण घरबाटै सुरु गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बालबालिकालाई सुरक्षित, सुसंस्कृत र उज्ज्वल भविष्य प्रदान गर्न अभिभावक, समाज तथा स्थानीय सरकारको संयुक्त भूमिका आवश्यक रहेको बताउँदै बाल अधिकारको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो। साथै, उहाँले शिक्षाले बालबालिकालाई हिंसा, शोषण र दुर्व्यसनबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

वडाअध्यक्ष अधिकारीले भने, “बालबालिका समाजका भविष्य हुन्। उनीहरूलाई सकारात्मक वातावरणमा हुर्काउने जिम्मेवारी हाम्रा सबैको हो। यदि बालबालिकालाई शिक्षा, सुरक्षा र अवसर प्रदान गरिएन भने हाम्रो समाजले समृद्ध भविष्यको परिकल्पना गर्न सक्दैन।” कार्यक्रममा र्‍यालीमा सहभागी हुने विद्यालय, बाल क्लब, आमा समूह तथा टोल विकास संस्थालाई विशेष सम्मान प्रदान गरिएको थियो। प्रस्तुतिका आधारमा उत्कृष्ट विद्यालय तथा समूहलाई पुरस्कृत समेत गरिएको थियो।

 

सगरमाथा आवासीय मावि प्रथम स्थान, ग्रीनप्लान्ट आवासीय मावि द्वितीय स्थान, देवदह बोर्डिङ स्कुल तृतीय स्थान र देवदह मावि र देवदह आमा समूह सान्त्वना स्थान हासिल गरेको छ । कार्यक्रममा स्थानीय समाजसेवी तथा बाल अधिकारकर्मीहरूले पनि आफ्ना धारणा राखेका थिए। उनीहरूले बालमैत्री शासन व्यवस्था लागू गर्न आवश्यक कानुनी तथा सामाजिक पहलको आवश्यकता रहेको बताए। उनीहरूका अनुसार बालविवाह, बाल श्रम, कुलत तथा दुर्व्यसन रोकथामका लागि नीति निर्माण मात्र पर्याप्त नभई व्यवहारिक कार्यान्वयनमा पनि ध्यान दिनु आवश्यक छ।

कार्यक्रममा बाल क्लबका प्रतिनिधिहरूले बालबालिकाका समस्याबारे आफ्ना विचार राख्दै समाज तथा सरकारलाई थप जिम्मेवार बनाउने आग्रह गरे। उनीहरूले विशेष गरी शिक्षा, स्वास्थ्य, आत्मरक्षा तथा नेतृत्व विकासमा लगानी गर्नुपर्नेमा जोड दिए।

कार्यक्रम बालमैत्री सहजकर्ता बबिता भट्टराईको सहजिकरण गर्नु भएको थियो। कार्यक्रममा सहभागी विभिन्न समूहहरूले साँस्कृतिक झाँकी तथा सचेतनामूलक नाटक समेत प्रस्तुत गरेका थिए।

बाल अधिकार प्रवर्द्धन तथा बाल हिंसा विरुद्धको यस अभियानले देवदहमा बालमैत्री वातावरण निर्माण गर्न सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। स्थानीय सरकार, समाज तथा बालबालिकाबीचको सहकार्यले भविष्यमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न मद्दत पुग्ने आयोजकको अपेक्षा रहेको छ।