
नवलपरासी । त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न क्याम्पसहरूमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर विद्यार्थी संगठनहरू आआफ्नो रणनीतिमा जुटिरहेका छन्। यसैक्रममा, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले देशभरका क्याम्पसहरूमा आफ्नो बलियो उपस्थिति जनाउने तयारी गरेको छ।
लम्की बहुमुखी क्याम्पस समेत यो अभियानबाट अछुतो रहने छैन। संगठनले विद्यार्थी अधिकारको रक्षा, क्याम्पसभित्रको भ्रष्टाचार अन्त्य, र शैक्षिक सुधारलाई प्राथमिकता दिँदै आएको छ। रा.प्र.वि.सं. का नेताहरूले स्ववियु निर्वाचनलाई विद्यार्थीको भविष्य निर्धारण गर्ने अवसरका रूपमा लिएको बताएका छन्।
यसै बीच,लम्की बहुमुखी क्याम्पसमा संस्कृत विषय अध्ययन गरिरहेका बैकुण्ड बजगाई ले उम्मेदवारी दिएका छन् । उनले विद्यार्थीहरूको हकहितको संरक्षण, पारदर्शिता, र गुणस्तरीय शिक्षाको प्रवन्धलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताएका छन्।
स्ववियु निर्वाचनलाई लिएर अनेरास्ववियु पनि आक्रामक रूपमा प्रचारप्रसारमा लागेका छन् । संगठनले शिक्षाको गुणस्तर सुधार, महँगी नियन्त्रण, र क्याम्पसमा आवश्यक पूर्वाधार निर्माणलाई आफ्नो प्राथमिकता राख्दै विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरिरहेको छ।
विद्यार्थीहरूलाई पार्टीभन्दा माथि उठी योग्य नेतृत्व छान्न आग्रह गर्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले भनेको छ, जबसम्म सक्षम नेतृत्व आउँदैन, न शिक्षा सुधारिन्छ, न विद्यार्थीको भविष्य सुरक्षित हुन्छ। अनेरास्ववियुका नेताहरूले पनि योग्य उम्मेदवारलाई जिताउनु नै विद्यार्थीको हितमा हुने बताएका छन्।
चुनावको मिति नजिकिँदै गर्दा विद्यार्थीहरूबीच उत्साह बढ्दो छ। उम्मेदवारहरू प्रचारप्रसारमा जुटिरहेका छन् भने विद्यार्थी मतदाताहरूले आफ्नो पक्षमा रहेका उम्मेदवारको मूल्यांकन गर्न थालेका छन्।